१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले बझाङको तपोवनमा गरेकाे लगानी ‘बालुवामा पानी’ 


52
Shares

बझाङ । बझाङको तल्कोट गाउँपालिका–१ सुनिकोटमा अवस्थित तपोवनका लागि गाउँपालिका तथा प्रदेश सरकारले पटक-पटक लगानी गरेको छ ।

तर उक्त लगानी बालुवामा पानी सरह भएको छ । गाविस, जिविस हुँदादेखि अहिले स्थानीय तह, प्रदेश र संघीय सरकार हुँदासम्मको लगानीको प्रतिफल नपाइएको हो । स्थानीय तथा प्रदेश सरकारले लगानी भने गर्दै जाने तर प्रतिफल नआउने हो भने लगानी गर्नुको कुनै अर्थ हुँदैन ।

आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालय बझाङको समन्वयमा सुनिकोटमा अवस्थित तपोवनका लागि सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन विकास मन्त्रालय मार्फत करिब ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त ठेक्का घटी घटाउमा ३० लाख रुपैयाँमा जयलक्ष्मी निर्माण सेवाले पाएकाे थियाे । ठेक्का कम्पनीले काम सम्पन्न गर्यो ।

तर काम सम्पन्न भएको भएपनि उक्त लगानी बालुवामा पानी सरह बनेको छ । सेती नदीको किनारमा तातो पानीका ज्वाला छन् । उक्त पानीलाई सोलार सिस्टमबाट माथि तानेर नुहाउन र पूजापाठ गर्न सहज हुने उद्देश्य लिएको भएपनि पानी भने माथि निर्माण गरेको पोखरीमा पुगेन । ठेकेदार कम्पनीका प्रमुख चक्रबहादुर बोहराले सम्पूर्ण काम सम्पन्न गरेको तर बाढीले भत्काइ दिएको भने पनि स्थानीय गोपाल कुँवरले स्थानीयलाई सरोकार नराखेको र नल्याएको मेशिनको बिल भरपाई गरेर योजना पास गरेको आरोप लगाउनुभयो ।

तपोवनमा राखिएका सोलारका पाताहरु कवाडीमा पुग्दा समेत सम्बन्धित निकायको ध्यान पुगेको छैन । पटक-पटक स्थानीय सरकार र प्रदेश सरकारले लगानी गर्ने तर प्रतिफल भने नहुने गरेको यस्तो लगानीको कुनै औचित्य नरहेको यहाँका नागरिएको बुझाइ छ । भौतिक संरचना पनि निर्माण भइसकेको यस क्षेत्रमा स्थानीय सरकारदेखि प्रदेश सरकारले हालसम्म करिब २ करोड लगानी गरिसकेको छ । तर ज्वालाको संरक्षण र लक्ष्य अनुसार काम नभएको स्थानीय कुबेरबहादुर थापा बताउनुहुन्छ।

तपोवनमा विवाह, व्रतबन्ध र काज–क्रिया जस्ता संस्कारहरु हुने गर्दछन् । ठाउँ-ठाउँमा तातोपानीका ज्वालाहरु रहेको यस पानीमा नुहाउदा चर्म रोग बाथ रोग तथा अन्य छाला सम्बन्धि रोगहरु निको हुने गरेको स्थानीय बताउँछन् । यसरी स्थानीय सरकार तथा प्रदेश सरकारले लगानी गर्दै जाने तथा प्रतिफल नआउने हो भने लगानी गर्नुको कुनै अर्थ हुँदैन ।