१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा ढुंगा खानी र जडिबुटी जंगलमै अलपत्र


65
Shares

म्याग्दी । म्याग्दीमा घर छाउने स्लेट ढुङ्गा र जडिबुटी प्रयोगमा आउन सकेको छैन ।

घर छाउने ढुंगा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रूम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण जंगलमा नै अलपत्र परेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुंगा, स्लेट र औषधिजन्य जडिबुटीको खानी नै भएपनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन ।

यहाँको स्लेट खानीले भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको छ । गाउँको सिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुंगा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थित रुपमा संचालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्य आम्दानी हुने स्थानीयवासीहरू बताउँछन् ।

यहाँको स्लेट र ढुंगा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट रहेकाे छ। प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ । रूमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भएपनि ति खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

रूम स्लेट र जडिबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । यहाँ रहेका सम्पदाहरुको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । केही वर्ष अघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र अर्घाखाँची लगायतका जिल्लाका विभिन्न गाउँहरूबाट यहाँका घर छाउने ढुंगाको माग आउने गर्दथ्यो ।

तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दी बाहेक अन्य जिल्लाहरुबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आउनुभएका ७२ वर्षीय छेमबहादुर बिकले बताउनुभयो ।