१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इलाममा फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्थापन गरिने


195
Shares

इलाम । इलामको फाकफोकथुम बजारको फोहोर व्यवस्थापन हुने भएको छ ।

लामो समयदेखि बजारमा थुप्रिंदै आएको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने भएपछि बजाबासी खुशी भएका हुन् । फोहोरको डंगुरका कारण बजारमा दुर्गन्ध फैलिंदा विभिन्न रोगको प्रकोप बढ्ने त्रास स्थानीयमा थियो ।

इलामको फाकफोकथुम गाउँपालिकामा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ । गाउँपालिकाले फोहोर व्यवस्थापनकालागि जग्गाको जोहो गरेपछि बजारमा सरसफाई अभियान थालिएको छ । वर्षाैंयता यत्रतत्र रहेको जनप्रतिनिधिसहितको टोलीले सफाई थालेको हो ।

पालिकाले नियम नै बनाएर शुक्रबारे बजारको फोहोरलाई दिगो व्यवस्थापन गर्न थालेपछि बजारवासी पनि फोहोर व्यवस्थापनमा उत्साहित भएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले यहाँको फोहोर विसर्जन गर्न डम्पिङ साइट व्यवस्थापन गरेसँगै बजारको फोहोर व्यवस्थापन हुने भएपछि बजार पनि सफा देखिन थालेको बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लामिछाने बताउनुभयाे ।

यहाँको फोहोर झण्डै ५ किलोमिटर पर रहेको जमिनमा विसर्जन गरिने भएको छ । स्थानीय नस्वाखोला नजिकको जंगलमा जमानसिंह रेवत र कमल पौडेलले जमिन निःशुल्क दिएपछि फोहोर व्यवस्थापन गर्न थालिएको हो । जमिन गाउँपालिकाको नाममा आउन बाँकी नै रहेपनि वडा कार्यालयको नेतृत्वमा फोहोर व्यवस्थापन सुरु गरीएकाले फोहोरका दिर्घकालिन समस्या सामधान हुनेमा बजारवासी समेत ढुक्क देखिन्छन् । फोहोर बजारमा थुप्रिएर बजारनै दुर्गन्धित हुन थालेपछि गाउँपालिकाले फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान खोज्दै आएको फाकफोकथुम गाउँपालिका–३ का अध्यक्ष दिपेन्द्र लिम्बु बताउनुभयाे ।

गाउँपालिकाको वडा नम्बर ३ ले महिनाको २/३ पटक बजार सफाइ गर्ने भएको छ । यसअघि गाउँपालिकाले फोहोर संकलनका लागि डस्टबिन वितरण गरेपनि डस्टबिनमा संकलित फोहोर कहाँ विसर्जन गर्ने भन्ने टुंगो थिएन । व्यवस्थापनको ठाउँ उपलब्ध भएसँगै पालिकाका अरू बजारको फोहोर पनि यहि ठाउँमा विसर्जन गर्न सकिने फाकफोकथुम गाउँपालिकाकी
उपाध्यक्ष कल्पना राईले बताउनुभएकाे छ ।

शुक्रबारेका साथै अन्य बजारको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले बजेट नै छुट्याएको छ । फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण भई हैजा र अन्य विभिन्न रोगसमेत देखिन थालपछि गाउँपालिकाले पहल थालेको हो । फोहोरका कारण खानेपानीसमेत दूषित हुने जोखिम बढेपछि फोहोर विसर्जन थालिएको हो ।

लामो समयसम्म व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन हुने भएसँगै बजारवासी समेत सुन्दर बजार बनाउनका लागि लागि परेका छन् ।