
अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँ बढीको सुन्तला उत्पादन हुने भएको छ । व्यवसायिक रुपमा सुन्तला खेतीबाट मनग्य आम्दानी हुने भएपछि यहाँका कृषक अन्य खेती छाडेर सुन्तला खेतीमा लागेका छन् ।
अर्घाखाँचीमा व्यवसायिक रुपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा लगायतका ठाउँका कृषकको आम्दानीको मुख्य स्रोत सुन्तला खेती हो ।
विशेष गरि पाणिनी गाउँपालिकाको वडा नम्बर १ को पणेनाको गाउँमा अन्य खेती कम गरिन्छ भने सुन्तला खेती बढी गरिन्छ । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएका पणेनाका दामोदर गौतमका अनुसार गत वर्षभन्दा यसवर्ष सुन्तला बढी फलेकाले करिब १४ लाख रुपैयाँको सुन्तलाको कारोबार हुने बताउनुभयो ।
पाणिनी गाउँपालिका– २ पोखराथोकमा शीत भण्डार निर्माण भएपछि कृषकले यहाँको सुन्तला भण्डार पनि गरेका छन् । सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री पनि गर्ने गरेको कृषक हरिप्रसाद पौडेल बताउनुहुन्छ ।
अर्घाखाँचीको ४ सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो । जिल्लाभरमा यो वर्ष करिब २७ करोड मूल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलन प्रसाद विश्वकर्माले बताउनुभयो ।
अर्घाखाँचीमा होलसेल मूल्य प्रति किलो ५० रुपैयाँभन्दा बढी मूल्यमा सुन्तला बिक्री हुने गरेको छ । उत्पादित सुन्तलामध्ये ३० प्रतिशत जिल्लाभित्र खपत हुन्छ भने बाँकी ७० प्रतिशत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्युठान, नवलपरासी, काठमाडौं लगायतका अन्य शहरहरुमा निर्यात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्