१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा सुन्तला बेचेर वार्षिक लाखौं आम्दानी


260
Shares

पाल्पा । सुन्तला प्रशस्त उत्पादन भएपछि पाल्पाका कृषकलाई सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । पाल्पाका कृषकका लागि अहिले सुन्तला खेती आम्दानीको मुख्य स्रोत बनेको छ ।

पाल्पाको छहरा, मुझुङ्ग, मैनादी, भैरवस्थान, कुसुम खोला, पूर्वखोला, देउराली, बराङ्गदी, नायर लगायत गाँउका कृषकले परम्परागत खेतीको तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटक लगाएपछि वषौंसम्म आम्दानी लिन सकिने भएका कारण र उत्पादित बस्तुको बजारीकरणका लागि सहज भएपछि महिला पनि व्यवसायिक सुन्तला खेतीतर्फ आकर्षित भएको अगुवा कृषक गीता घिमिरेले बताउनुभयो ।

सुन्तला खेती व्यवसायिक बनाउनका लागि कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेका कारण जिल्लाका कृषकहरूले सुन्तला खेतीलाई प्रमुख नगदे बालीको रुपमा लगाएका हुन् । सुन्तलाजात फलफूलको खेती प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकाले समेत नीति तथा कार्यक्रम ल्याएका कारण जिल्लाका महिलासमेत व्यवसायिक सुन्तला खेतीतर्फ आर्कर्षित भएका हुन् ।

पाल्पा मुझुङ्गका कृषक संजीव बस्नेतले आफ्नो बारीमा ३ सय बढी सुन्तलाको बोटले फल दिन लागेको र वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । त्यस्तै, कृषक नित्यानन्द पोख्रेलले पनि सुन्तला जातका फलफूललाई व्यवसायिक खेतीको रुपमा लिन थालेपछि अन्य बाली नै लगाउन छाडेर सुन्तला खेती नै जीवन निर्वाहको मुख्य माध्यम बनेको बताउनुभयो ।

पाल्पामा तीन हजार रोपनी क्षेत्रफलभन्दा बढीमा सुन्तला, मौसम, जुनारको व्यवसाययिक खेती गरिएको छ । यहाँ उत्पादित सुन्तला स्थानीय बजारदेखि सदरमुकाम तानसेन, बुटवल, भैरहवाका साथै चितवनको नाराणघाटसम्म पुग्दछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले व्यवसायिक सुन्तला खेती प्रवर्द्धनका लागि यान्त्रिकीकरण, उन्नत जातको बिउ–बिरुवा, प्रविधिसँगै उत्पादित वस्तु भण्डारणका लागि शितभण्डार निमार्णका लागि सहयोग गरेको परियोजनाका प्रमुख दिपक भट्टराई बताउनुहुन्छ ।

पाल्पामा गतवर्ष २ हजार ५ सय म्याट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ५ हजार म्याट्रिकटन भन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । कृषक र उपभोक्ताको बीचमा मूल्यमा धेरै अन्तर भएकाले मूल्य समायोजनका लागि पहल गर्नुपर्ने कृषकको माग छ ।