११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकारको नेतृत्वबारे सल्लाह गरेर सहमतिमा पुग्छौं : अध्यक्ष दाहाल


156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताउनुभएको छ ।

अध्यक्ष दाहालले सरकारको नेतृत्वबारे सल्लाह गर्ने प्रतिक्रिया दिनुभयो । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उहाँलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उहाँले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिनु भएको छ भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाइरहनु भएको छ ।

यता, प्रतिनिधि सभामा तेस्रो हेसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्रीको दावी स्वभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । अध्यक्ष दाहालले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आउनुभएको छ ।