
सिन्धुली । पछिल्लो समय सिन्धुली विभिन्न सडक संजालमा जोडिएको छ ।
हुनत बुढापाकाहरुले वि.सं २००८ सालमा नै सिन्धुलीमा मोटर आएको बताउँने गरेका छन् । त्यतिबेला पुल नहुँदा सवारी साधन र मानिसले एउटै खोला २२ पटक (ग्वाङ खोला २२ जंघार) पार गर्नु पथ्र्यो । तर अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ । सिन्धुली हाल विभिन्न तीन ठूला राजमार्गको ट्रान्जिट बिन्दु बनेको छ । जसका कारण यहाँको जनजीवन सुध्रिदै जान थालेको छ ।
विगमा धनुषा जिल्लाको चिसापानीबाट सिन्धुली हुँदै नून, तेल, फलामका ढाकर सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा र खोटाङ पुग्ने बुढा पुस्ताहरूले देख्ने गरी अहिले ती गोरेटाहरूमा सडक यातायातको सुविधाले सिन्धुलीकाे जनजीवनमा आमूल परिवर्तन आएको छ ।
सिन्धुली जिल्लाको भू-भाग भइ वीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग जस्ता ३ वटा मुख्य सडकहरूको निर्माणको सञ्जालले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा प्रत्यक्ष रूपमा सहयोग पुगेको छ।सिन्धुलीको भूगोलबाट निर्माण भएका राजमार्गहरुमा यातायाताका साधनहरु संचालन भएपछि सिन्धुली मात्र नभइ काभ्रेपलान्चोक, रामेछाप, दोलखा, ओखलढुंगा, खोटांग, उदयपुर, मकवानपुर, रामेछाप र महोतरी लगायत मध्यपूर्वी क्षेत्रका वासीन्दाहरूको आवागमन, बजारीकरणमा सहयोग पुगेको छ ।
काठमाडौंलाई छोटो दूरीमा पूर्वीतराईका जिल्लाहरूसँग जोड्ने कुल १ सय ५८ किलो मिटर लम्बाइको वीपी राजमार्गको चुरे पहाडदेखि नेपालथोकसम्म कुल ९१ किलोमिटर क्षेत्रफल सिन्धुली जिल्लामा पर्दछ । पुष्पलाल मध्य पहाडी लोकममार्गको खुर्कोटदेखि उदयपुर जिल्लाको सिमाना बहादुरेखोलासम्मको कुल ६० किलो मिटर सडक सिन्धुलीमा पर्दछ । यसैगरी धरान चतरा गाईघाट, सिन्धुली हेटौंडा मदन भण्डारी राजमार्गको कुल ३ सय १८ किलो मिटरको सडक मध्धे बागमतीदेखि कटारीसम्मको कुल १ सय ३० किलो मिटर क्षेत्रफल सिन्धुलीमा पर्दछ ।
सिन्धुलीमा राष्ट्रिय प्राथमिकता प्राप्त ३ वटा राजमार्गको निर्माणले हिमाल तराईको सडक सञ्जाल जोडिनुका साथै काठमाडौंसम्मको आवागमनमा सहज तथा भित्री तराई र मध्य पहाडी भू-भागमा बसोवास गर्ने वासीन्दाहरूको सामाजिक तथा आर्थिक जीवनस्तरमा महत्वपूर्ण सहयाेग पुर्याएको छ । सडक सञ्जालका कारण सिन्धुलीका जनताको जीवन स्तरमा परिवर्तन हुँदै गएको छ भने स्थानीय उत्पादनले बजार पाएका छन् । सडक यात्रा विगतको तुलनामा निकै सहज समेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्