
काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशपछि उनलाई सरकारले स्वदेश पठाएको छ । खस्कँदो स्वास्थ्य अवस्था तथा ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावली अनुसार ७८ वर्षीय चार्ल्स रिहा भएका हुन । जीवनको उत्तराद्र्धमा रहेका शोभराजको बाँकी जीवन कसरी वित्छ त्यो भने हेर्न बाँकी छ ।
दुई वर्षअघि उच्च अदालत पाटनले भक्तपुर जिल्ला अदालतको सर्वश्वसहित जन्मकैदको फैसलालाई सदर गरेपछि शोभराज त्यही सजाय भुक्तान क्रममा थिए । २०३२ सालमा क्यानेडियन नागरिक लरेन्ट अर्मान्ड कारियाको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले १ असोज २०७२ मा गरेको सर्वश्व सहित जन्मकैदको फैसलालाई सदर गरेको थियो ।
शोभराजले हदम्याद सकिएको मुद्दामा भक्तपुर अदालतले गरेको फैसलाले अन्याय भएको भन्दै बदर गरिपाउँ भनी पुनरावेदनमा २४ बैशाख २०७३ मा मुद्दा दर्ता भएको थियो । यसअघि शोभराजले कोन्नीको हत्यामा अदालतबाट भएको सर्वश्व सहित जन्मकैदको सजाय २०७१ मै भुक्तान गरेका थिए ।
२०३२ पुस ६ गते भक्तपुरको पलाँसेस्थित अरनिको राजमार्गको दक्षिणतर्फ ढलमा अनुहार डढाएको शव फेला परेको थियो । तत्काल नखुलेको त्यो शवको पहिचान दुई दिनपछि काठमाडांैको मनहरा घट्नाबाट खुलेको थियो । त्यसको पर्सिपल्ट गस्तीमा निस्किएको प्रहरीले मनहरा खोला किनारमा पेट्रोल हाली आगो लगाएको र मुटुमा छुरा रोपेर हत्या गरी फालिएको अवस्थामा एक युवतीको शव फेला पार्यो । टाउकोदेखि पैतालासम्म डढेको, पूरै शरीरको भाग नाङ्गो र मुटु लक्षित गरी चार पटक छुरा रोपिएको अवस्थामा फेला परेको शवको पहिचान तत्काल खुल्न सकेको थिएन ।
सोही समयमा धुलिखेल घुम्न गएका झोँछेको ओरियन्टल लजमा बस्ने दुई विदेशी पर्यटक नफर्किएको जानकारी आयो । प्रहरीले त्यही लजमा बस्दै आएका अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनलाई मनहरामा शवसँगै भेटिएको झुम्का देखाएर मृतक अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिचको पहिचान गरेको थियो । प्रहरी अनुसन्धानमा यी दुवैको सम्पर्क होटल सोल्टीमा बस्ने भियतनामी नागरिकसँग रहेको सूचना फेला पर्यो ।
त्यसकै आधारमा प्रहरीले भियतनामी नभई भारतीय–चिनियाँ अनुहारसँग मिल्दोजुल्दो जोडी हेनरिकस विन्ताजा र कुकी हेमकरलाई फेला पारेको थियो । त्यही समयमा यहाँको हत्या प्रकृतिसँग मिल्ने गरी थाइल्याण्डको बैंककमा पनि एक विदेशी नागरिक मारिएको सूचना नेपाल प्रहरीले पाएको थियो । नशालु पदार्थ खुवाई पेट्रोलियम पद्धार्थ हालेर आगो लगाएर गरिएको उक्त हत्याको प्रकृति कोन्नी हत्यासँग मेल खान्थ्यो । कालान्तरमा त्यो घटनाको नाईके चाल्र्स शोभराज भएको खुल्यो ।
प्रहरीलाई छक्याउँदै २८ वर्ष अघि भागेका शोभराज २ असोज २०६० मा रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परे । उनको पक्राउसँगै यहाँ रहेको २८ वर्ष अघिको हत्या र फर्जी राहदानीको मुद्दा ब्युँतियो । २०६० सालमा दोस्रो पटक नेपाल आउने क्रममा पक्राउ परेका शोभराजविरुद्ध कोन्नीको हत्या र फर्जी राहदानीको अभियोग पुष्टि गर्दै जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको सजाय सुनायो ।
शोभराज त उम्किए । अपराधीको मुक्तिसँगै अब अपराधीले रोपेको बीउतर्फ सुरक्षा संयन्त्रको ध्यान जान जरुरी छ । यो प्रकरणसँगै पाहुनाको आवरणमा नेपाली भूमि अपराधीको क्रिडास्थल बन्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्