
काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेको छ ।
पाटन उच्च अदालतमा हुने पेसीमा बिहीबार नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ । गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए ।
मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनुभयो ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् ।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ ।
सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्