
नवलपुर । राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरू मौरी पालनमा आकर्षित भएका छन् ।
मौरीपालन गर्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन ।
मौरीपालनले नवलपुरका युवाहरूलाई विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा दंग परेका छन् ।
जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरूले कृषि पेशा अन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । मौरीपालनमा लाग्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले आकर्षक अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन् ।

देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापालाई पहिले मौरीपालनबाट के नै आम्दानी होला जस्तो लागेको थियो तर मौरीपालन गरेर यसबाट आम्दानी हुने देखेर मौरीपालनमा लागेको बताउँछन् ।
चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । देवचुली नगरपालिकाकै राजेन्द्र रावलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् ।
मौरीपालन गर्न युवाहरूले सामुदायिक वनसँग साझेदारी गरि घार व्यवस्थापन गर्ने गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरि युवाहरू मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु कँडेलले बताउनुभयो ।
कोभिड–१९ का कारण बेरोजगार भएका र रोजगारको कुनै स्रोत नभएकाहरु मौरीपालन गर्न चाहन्छन् भने उनीहरूलाई मौरीपालन गर्न अनुदान दिने गरेको अध्यक्ष कँडेलले बताउनुभयो ।
आम्दानीको स्रोत छैन भन्दै विदेश जानेहरूका लागि नवलपुरका युवाहरू उदाहरणको पात्र बनेका छन् । आँट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरू धेरै छन् भनेर उनीहरूले देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्