७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सुनकोशी-मरिण सुरुङमा ५७ हजार सेग्मेण्ट प्रयोग हुने


364
Shares

सिन्धुली । सिन्धुलीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनको सुरुङमा लगभग ५७ हजार सेग्मेण्ट लाग्ने भएको छ ।

डाइभर्सनको कुल १३ दशमलव ३ किलोमिटरको ५ दशमलव ५ व्यास भएको सुरुङ्मा ५७ हजार सेग्मेण्टको प्रयोग हुने सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभजनल इन्जिनियर अशोक गौतमले बताउनु भयो ।

सुरुङ निर्माणको क्रमसँगै सुरुङमा प्रयोग हुने सेग्मेण्ट अर्थात रिङगको निर्माण सुनकोशी-मरिण डाइभर्सन सुरुङ निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेकले गरिरहेकोे छ ।

गत असोज महिनाबाट सुरुङ निर्माणको थालनी गरिएकोमा हालसम्म २ किलोमिटर सुरुङ् निर्माण भइसकेको छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङका लागि करिब ५७ हजार सेग्मेण्ट निर्माण गर्न आयोजना स्थलमा दैनिक ६० वटाको हाराहारीमा सेग्मेण्टको निर्माण भइरहेको छ ।

एक वर्ष दश महिनामा डाइभर्सनको सुरुङ खनिसक्ने लक्ष्य अनुसार ५ दशमलब ५ डायमिटर पानी बग्ने भाग रहने गरि ६ दशमलव ६ डायमिटरको सुरुङ खनिएको छ ।

सुनकोसी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुनकोशी नदीको पानी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालि ३१ मेगावाट सम्मको विद्युत् उत्पादन गरिने लक्ष्य रहेको छ ।

उत्पादित विद्युत् राष्ट्रिय ग्रिड जोडिने छ भने बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ ।