
कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा स्तम्भको अनुगमन गर्नुभएकाे छ ।
प्रमुख जिल्ला अधिकारीसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्राैलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो। नेपाल–भारत सीमा अन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमा स्तम्भ मर्मत गर्नुपर्ने प्रमुख थापाले बताउनुभएकाे छ । चार वटा सीमा स्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सात वटा सीमा स्तम्भ भारतले मर्मत गर्ने बताउनुभएकाे छ । नेपालले मर्मत गर्नुपर्ने सीमा स्तम्भको अवस्था के–कस्तो छ भन्ने बारेमा बुझ्नका लागि अनुगमन गरिएको उहाँले बताउनुभयाे ।
जिल्लाको खक्राैला भन्सारमा राजस्व चुहावट नियन्त्रणको बैठक समेत भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । खक्रौला भन्सार कार्यालयका प्रमुख बिमलकुमार शाह नै तस्करीमा लागेको आरोपपछि उहाँ खक्रौला पुग्नु भएको हो ।
हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरू सल्टाउनका लागि समेत छलफल गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्