
बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिका-९ मा रहेको जवा प्राथमिक विद्यालयको अवस्था दयनीय रहेको छ ।
गाउँको छेउमा अवस्थित जवा प्राविमा १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । साेही विद्यालयमा शिशु कक्षादेखि ३ सम्म पढाई हुन्छ । यस विद्यालयमा सबै विद्यार्थीहरु दलित समुदायका मात्रै अध्ययन गर्छन् । सेकुको ठूलो गाउँमा गैरदलितका बालबालिका गाउँ नजिकै रहेको अर्को विद्यालयमा पढ्छन् । विद्यालयमा एक तले ३ कोठाको एउटा मात्रै भवन छ । स्थापना कालमा लगाएको यो भवन पनि पानी पर्दा चुहिने गर्छ ।
भवन जीर्ण अवस्थाको रहेकाे छ । विद्यालयमा बालबालिकालाई बस्नका लागि टेबुल बेन्च समेत छैनन् । ३ कोठा रहेकोमा एकमा अफिस ( कार्यालय) राखिएको छ भने बाँकी रहेका २ कोठामा विद्यार्थीहरुलाई अध्यापन गराउने काम हुन्छ । कक्षा २ र ३ का विद्यार्थीसँगै राखेर पढाउदा केही पनी बुझ्न नसकिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामीले बताएकी छन् । पाठ्यक्रम फरक- फरक हुन्छ ।
दुई कक्षाका विद्यार्थी एउटै कक्षा कोठा बसेर पढ्दै आएका छन् । अलग अलग बस्नका लागि कक्षा कोठा पनि छैन । शिक्षक पनि छैनन् । शिक्षकका लागि कुरेर बस्नु पर्छ । कति बेला शिक्षकले पढाउन आउनुहुन्छ भनेर कुरेर बस्नुपर्छ । हाम्रो पालो कति बेला आउन्छ भनेर बस्नु पर्ने छात्रा कामीकाे भनाइ छ । कक्षा कोठा अभावका कारण कहिले विद्यालयको छुट्टी चाँडै गर्नु पर्ने अवस्था सिर्जना हुने गरेको विद्यालयका कार्यरत शिक्षिका मञ्जु बिकले बताउनुभयाे ।
उहाँले भन्नुभयाे,-‘विद्यालयमा २ वटा मात्रै कक्षा कोठा छन् । २ जना शिक्षिका छौं । कक्षा कोठा अभावका कारण शिशु र कक्षा १ मा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेरसँगै पढाउदै आएका छौं । कक्षा २ र ३ मा अध्ययन गर्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर अध्यापन गराइएकाे छ । एउटै कक्षामा अलग अलग कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई राखेर पढाउदा शिक्षामा भने जस्तो प्रभावकारी र गुणस्तरीय हुन सकेकाे छैन् । एकतर्फ पढाउन खोज्यो अर्को तर्फको विद्यार्थीले हल्ला गर्छन् । अर्को तर्फ पढाउन खोज्यो अर्को तर्फकोले हल्ला गरिहाल्छन् । सँगै राखेर विद्यार्थीलाई अध्यापन गराउदा निकै गाह्रो हुने गरेको छ । आफूहरुले शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि विभिन्न शैक्षिक सामग्री प्रयोग गरेर, गृहकार्य दिएर १०-१० मिनेट दिएर विद्यार्थीलाई पढाउदै आएका छाैं ।’

शिक्षक अभाव र कक्षा कोठा अभावका कारण शिक्षण सिकाई प्रकृयाबाट आफूहरु अघि बढिरहेका विद्यालयकी प्रध्यानाध्यापक आशा सिंह शाहीकाे भनाइ छ । उहाँले भन्नुभयाे,-‘केही समय अघि स्वयंसेवक शिक्षक पालिकाले उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै विद्यालयका पढाउदै आएका एक जना स्वयंसेवक शिक्षक भारत गएपछि थप समस्या भएको हो । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारीहरुलाई समेत पटक-पटक जानकारी गराईसकेका छौं । तर अहिलेसम्म अवस्था ज्युँकात्यू छ । सुनुवाईसम्म पनि हुन सकेको छैन । कहिले काहीं काम विशेषले एक जना शिक्षिका विद्यालयमा उपस्थित हुन नसेको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।’
विद्यालयको दूराअवस्था देख्दा आफूहरुलाई नराम्रो लाग्ने गरेको स्थानीय गेडे कामी बताउनुहुन्छ । केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहरा, उपाध्यक्ष मनिशा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्याय सहितको समूहले विद्यालयको स्थलगत निरीक्षण समेत गरेको स्थानीयवासी बताउछन् । यस विद्यालयको विषयमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको बताएका छन् ।
तर केही समय भित्रै भवनका लागि आफूहरुले पालिकाबाट बजेट विनियोजन गर्ने गरी कामअघि बढाई सकेको उनीहरूकाे भनाइ छ। तत्काल समस्या समाधानका लागि पालिकाबाट केही रकम विद्यालयलाई विनियोजन गरिने र शिक्षक उपलब्धताका लागि प्रकृया अघि सारी सकेको समेत उनीहरूकाे दावी छ । केही दिनभित्रै शिक्षक विद्यालयमा उपलब्ध गराउने केदारस्युँ गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्