१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको सार्वजनिक ऋण २० खर्ब माथि


182
Shares

काठमाडौं । नेपालको सार्वजनिक ऋण २० खर्ब माथि पुगेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनमा जनाइएको हो ।

कार्यालयका अनुसार यस अवधिमा नेपालको कूल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यस अवधिमा सरकारले कूल २४ अर्ब ७० करोड बराबर बाह्य ऋण उठाएको छ भने ५ अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको छ ।

विनियमदरमा भएको वृद्धिका कारण थप ५ अर्ब ५२ करोड तिर्नुपर्ने भएको जनाइएको छ । यही अवधिमा आन्तरिक ऋणको साँवा र ब्याज नै २९ अर्ब ८३ करोड भुक्तानी गरिएको छ । अहिले नेपालको कूल गार्हस्थ्य उत्पादनको आकार ४८ खर्ब ५१ अर्ब बराबर रहेको छ ।

कूल गार्हस्थ्य उत्पादनसंग नेपालको सार्वजनिक ऋणको अवस्था ४१ दशमलव ३८ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ । नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक समूहअन्तर्गत ‘इन्टरनेसनल डेभलपमेन्ट’ एसोसिएसन (आइडिए) रहेको छ । आइडिएसँग नेपालले ५ खर्ब २६ अर्ब बढी ऋण लिएको छ ।

नेपालले लिने ऋण अधिकांशतः सहुलियतपूर्ण ऋण भएकाले तिर्न खासै समस्या नहुने भए पनि विनिमयदरको प्रभाव भने रहने बताइन्छ ।