१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुलामञ्चलाई पार्किङस्थल बनाउन लागेको भन्दै विरोध


156
Shares

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् ।

अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च)को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै विरोध गरेका थिए । स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमबार विरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनु पर्ने उनीहरुको माग छ । उनीहरुले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन् । विरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनुभयो ।

उहाँले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भएपनि मालिक नभएको बताउनुभयो ।

त्यस्तै, अभियानको कार्यक्रममा सहभागी बन्नुभएका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताउनुभयो । उहाँले टुँडिखेल जस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङ जस्ता कुनै पनि संरचना बनाउन दिन नहुने बताउनुभयो । उहाँले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिनुभयो ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ ।