२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन


1.248k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ ।

सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माण सम्बन्धि मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गर्नुभयो । भवन निर्माणसम्बन्धि मापदण्डको पूर्णपालना गराउन सके भूकम्पीय जोखिम न्यूनिकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उहाँले बताउनुभयो । गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनकरणका लागि विद्यालय, कलेज, पाटी प्यालेस, सभाहलहरुको निर्माणमा ध्यान दिन पनि सचेत गराउनुभयो । मन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले सो आचारसंहिताको पालनामा कडाई गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको दृष्टान्त समेत प्रस्तुत गर्नुभयो ।

मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्मरण गराउनुभयो ।