२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारमा जाने औपचारिक प्रस्ताव नै आएको छैन : जगन्नाथ खतिवडा


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्यहरुले बामपन्थी शक्तिहरुबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले बामपन्थी शक्तिहरुका बिचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले बामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताउनुभयो ।

उहाँले बामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताउनुभयो । त्यस्तै, संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राख्नुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताउनुभयो । बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ । औपचारिक प्रश्ताव नै नआएको । प्रश्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन । हाम्रा उद्देश्य अनुसार यि सबकुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन । त्यसपछाडी गरिने कुरा हो । त्यसकारण हामी सँग औपचारिक प्रश्ताव नै छैन ।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताउनु भयो । व्यक्तिगत रुपमा प्रधानमन्त्री दाहालप्रति सद्भाव भएपनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पार्नुभयो । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटव्युरो बैठक राखिएको भन्दै उहाँले परिपक्व निर्णय गरिने बताउनुभयो ।

बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने छ ।