
नवलपरासी । चिसोबाट प्रभावित गरीब परिवारलाई वितरण गर्न नवलपरासीको बर्दघाट नगरपालिकाले पुराना कपडा संकलन गर्न थालेको छ ।
नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न भन्दै पुराना कपडा संकलन गर्न समिति नै बनाएर पठाएको हाे । जिल्लामा केही दिनदेखि शितलहरसँगै अत्याधिक चिसो बढेको छ । पुराना कपडा वितरणको निर्णयसँगै नगरपालिकाको आलोचना समेत सुरु भएको छ । सामाजिक सञ्जाल र विभिन्न संस्थाहरुले त्यसको आलोचना सुरु गरेका हुन् । नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रहेको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयाे ।
नगरमा १ सय ५० जना विपन्न परिवार छन् । कोषबाट विपन्न परिवारलाई आवश्यक पर्ने लत्ता कपडा समेत खरिद गरेर वितरण गर्न सक्ने उहाँले बताउनुभयाे । तर स्थानीय सरकार भएर क्लब जस्तै गरी पुराना कपडा संकलन गरेर वितरण गर्नु विपन्नप्रतिको हेपाहा प्रवृत्ति भन्दै आलोचना हुन थालेको हो । यो निर्णयले स्थानीय सरकारको अनुभूति हुन नसकेकाे गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बालिन्द्र विक्रम शाहीले बताउनुभयाे । न्यानो कपडा नभएर जनता पीडित नै भएको भए किनेर दिनुपर्ने उहाँकाे भनाइ छ । क्लब जस्तो उठाउँदै हिड्नु जायज नहुने उहाँकाे तर्क छ ।
साथै नगरप्रमुख शम्भुप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले कपडा संकलन गर्न वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर परिचालन गरेको छ । कपडा संकलन समितिमा नगर उद्योग वाणिज्य संघ, रेडक्रस र बजार विकास समिति लगायत रहेका छन् । पुराना कपडा संकलनकाे बारेमा नगरप्रमुख श्रेष्ठले आवश्यक परे नयाँ खरिद गरेर वितरण गर्न सकिने बताउनुभयाे ।
यसैबीच चिसोबाट राहत पुर्याउन नगरपालिकाले वडा नम्बर १३ का वडाध्यक्ष नरबहादुर चौधरीको संयोजकत्वमा दाउरा वितरण समिति गठन गरेर चोकचोकमा आगो ताप्ने व्यवस्थाका लागि परिचालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्