
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारबारे कुनै निर्णय गर्न सकेन ।
सोमबार र मंगलवार गरी दुइदिनसम्म चलेको पालिटब्यूरो बैठकले सरकारको विषयमा थप छलफल गर्नु पर्ने भएकाले त्यसको जिम्मा सचिवालयलाई दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । स्थायी समिति बैठकले सरकारमा जाने या नजाने भन्नेबारे टुंगो लगाउने जिम्मा पालिटब्यूरोलाई दिएको थियो, तर पालिटब्यूरोले पनि निर्णय गर्न नसकेपछि पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको हो ।
यसैगरी वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी पनि बैठकले केन्द्रीय सचिवालयलाई दिएको छ । वामपन्थी सहकार्य, एकता, मोर्चा बनाउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउने गरी ठोस पहल कदमी गर्ने जिम्मा सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकार लगायत देशको समसामयिक राजनीतिका बारेमा पनि सदस्यहरुले धारणा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई समर्थन गर्न र सरकारमा जानेबारे समाजवादी समक्ष लिखित रुपमा कुनै प्रस्ताव नराखेकाले त्यसबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको हो ।
प्रतिक्रिया दिनुहोस्