६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नमुना बन्दै केशर पुस्तकालय


702
Shares

काठमाडौं । नेपालमा पुस्तकालयको इतिहास पुरानो छ । केशर शम्शेरको निजी पुस्तकालयलाई कुनै बेला ठूलो पुस्तकालयको रुपमा लिइन्थ्यो । उहाँको निधनपछि सरकारले यसलाई सार्वजनिक पुस्तकालयका रुपमा रुपान्तरण गरेको हो । २०७२ को भुकम्पले केशर महल क्षतिग्रस्त हुँदा पुस्तकालयको टहराको बास भएको छ ।

ज्ञान आर्जनका लागि कुनै बेला ठूलो पुस्तकालयका रुपमा रहेको केशर पुस्तकालय रहेको केशर महलको वर्तमान रुप । केशर शम्शेरले निजी रुपमा सञ्चालनमा ल्याएको पुस्तकालय उहाँको इच्छा बमोजिम निधनपछि सरकारलाई हस्तान्तर गरी राष्ट्रिय पुस्तकालयको रुपमा आम पाठकका लागि खुल्ला गरिएको थियो ।

विभिन्न विषयका करिब ३० हजार बढी महत्वपूर्ण ऐतिहासिक ग्रन्थ एवं पुस्तक संग्रहित पुस्तकालय रहेको भवन केशर महल २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त हुन पुग्यो । तत्पश्चात पुस्तकालयको टहराको बास बन्यो भने यहाँ रहेका पुरातात्विक एवं ऐतिहासिक महत्वका सामाग्री अन्य ठाउँमा सारियो । हाल शिक्षा मन्त्रालय अन्तर्गत् केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट केशर महलको सवलीकरण भइरहेको छ । पुस्तकालय प्रमुख सुरेश कुमार यादवले ऐतिहासिक केशर महलको सवलिकरण अबको करिब ६ महिनाभित्र सकिने दाबी गर्नुभयो ।

हालसम्म खुला नगरिएका केशर शम्शेरको संकलनलाई पनि आमपाठकको लागि खुल्ला गरिने पुस्तकालयको तयारी छ । अब पुस्तकालय आधुनिक संग्रहालयका रुपमा विकास गरिने समेत यादवको दाबी छ ।

केशर महलमा रहेका सरकारी कागजात अहिले खुल्ला रुपमा महल परिसरमा यतिकै राखिएका छन् । यादवले यी कागजात पुस्तकालयको नभएर शिक्षा मन्त्रालय अन्तगर्तका विभिन्न शाखा र युनेस्को कार्यालयको भएको र आवश्यक नभएको समेत बताउनुभयो ।

सूचनाको स्रोतहरुमा नागरिकको सहज र सरल पहँुचका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहन्छ । यसमा पनि केशर पुस्तकालय जस्तो ऐतिहासिक महत्व बोकेको पुस्तकालयको मौलिकता कायम गरी समय अनुकूल आधुनिकीकरण गर्न जरुरी रहेको छ ।