२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानका लागि मासिक १५ लाखसम्म खर्च


208
Shares

काठमाडौं । समाजलाई प्रविधिसँग जोड्ने भएकोले चार वर्षअघि खोलिएको राष्ट्रिय आविष्कार केन्द्रले जनताको दैनिकीमा मद्दत पुर्‍याउने खालका वस्तु निर्माणमा आफूलाई केन्द्रित गर्दै आएको छ । केन्द्रले ड्रोनदेखि सेलरोटी पकाउने मेसिन बनाउने काममा सफलता हात पारेको छ ।

म्याग्दीको दुर्गम गाउँलाई इन्टरनेटमा जोडेपछि रोमन म्यागासेसे पुरस्कार विजेता लाई डा. महावीर पुनको चर्चा मात्र चुलिएन, केन्द्रको अवधारणा जन्मियो । अमेरिकी शिक्षा दीक्षा पाएका पुन आफ्नै माटोमा काम गर्ने संकल्पको परिणाम केन्द्र सफल बनाउने जप, तपमा लाग्नुभएको छ । यसले गरेका अनुसन्धानमा सफलता र विफलताको मिश्रण छ । अनुसन्धानमा मासिक १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । अहिलेसम्म राज्यबाट १४ लाख रुपैयाँमात्र आएको संस्थापक राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बताउनुहुन्छ ।

आविष्कारको क्षेत्रमा गरिब देश लगानी नै गर्न नखोज्ने प्रवृत्तिका कारण मुलुक विकास पनि हुन नसक्ने उहाँको तर्क छ । विकसित मुलुकले वार्षिक बजेटको पाँच प्रतिशत सम्म लगानी गरेको उल्लेख गर्दै नेपाल जस्ता कम विकसित मुलुकले पनि १ प्रतिशतसम्म लगानी गर्नुपर्ने पुनको धारणा छ ।

सियोदेखि फालीसम्म आयात हुने मुलुकमा अहिले आविष्कार केन्द्रले अहिले सेलरोटी बनाउने मेसिनदेखि औषधि बोक्ने ड्रोन, अस्पतालमा प्रयोग हुने बेबी वामर, मकै लगायत यस्तै, प्रकृतिका वस्तु भुट्न मिल्ने मेशिन, खुवा बनाउने, कफी रोस्टर लगातय दर्जनौ मेसिन बनाइसकेको छ । केन्द्रमा हाल ४५ जना अनुसन्धानकर्ता अनुसन्धाररत छन् ।

आविष्कारको क्षेत्रमा सरकारले नै प्रशस्त लगानी गर्नुपर्ने भए पनि नेपालको हकमा भने त्यो शून्य जस्तै छ । पुनको पहलमा स्थापना भएको केन्द्र प्राइभेट लिमिटेड भएको भनी समय समयमा प्रश्न उठ्ने गरेको छ । सरकारको दृष्टि नपुग्दा नै आफूले सक्रियता लिनुपरेको सञ्चालकको तर्क छ । सरकारले पनि समयको आवाज बुझेर लगानी र अनुगमन एकसाथ गर्न जरुरी छ ।