
काठमाडौं । राजधानीमा जारी नेपाल टी-ट्वान्टी क्रिकेटमा लुम्बिनी अलस्टारले काठमाडौं नाईट्समाथि १ सय २ रनको सानदार जित निकालेको छ ।
यो जितसँगै लुम्बिनी प्रतियोगिताको क्यालिफायर्समा समेत प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा १७ ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गर्दै क्यालिफायर्समा पुग्ने पहिलो टिम बनेको हो ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ दशमलव ४ ओभरमा अलआउट भएर ८१ रनमात्र बनाउन सक्यो । नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
८ खेल खेलेर ४ जित तथा ४ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आजै भएको अर्को खेलमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई ६ विकेटले पराजित गरेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले ६० रनको अर्धशतकीय ईनिङ खेले । फार वेस्टका नुर अहमद, प्रकाश जैशी, करण केसी र हसमतुल्लाह साहिदीले समान १/१ विकेट लिए । त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
फार वेस्टका लागि विनोद भण्डारीले ४५ रन बनाए । विराटनगरका लागि साहाब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । ८ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्