
काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ । यो जितसँगै जनकपुर रोयल्स नेपाल टी–ट्वान्टी लिगको प्लेअफमा पुगेको छ ।
९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर प्ले अफमा पुगेको थियो ।
बिहीबार टियु मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
जनकपुरका ओपनर सराफउद्धिन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे ।
बलिङमा पोखराका कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै समेटियो ।
पोखराको लागि मध्यक्रमका सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए । उनले १० बलमा २ चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा जनकपुरका सोमपाल कामीले ३ तथा सइफउद्धिन र ललित राजवंशीले २/२ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभन ग्रिफिथ र पवन सरार्फले एक/एक विकेट लिए ।
यो हारले पोखराको प्लेअपफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ९ खेलबाट ६ अंक जोडेको पोखराले लिगमा एक मात्र खेल खेल्न बाँकी छ ।
बिहीबारको दोस्रो खेलमा काठमाडौं नाइट्स र फार वेस्ट युनाइटेडबीच खेल भइरहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्