
काठमाडौं । २००६ सालमा कोलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी २०१७ पछि चोइटिँदै–टुक्रिँदै दर्जनौं भागमा विभाजित भयो । २०१७ पछि निरन्तर टुक्रिने क्रममा रहेको कम्युनिष्ट पार्टीका विभिन्न घटकभित्र फेरि एकताका स्वर बाक्लिन थालेका छन् । स्थापनाको झण्डै साढे ६ दशकको इतिहासमा यदि यो प्रयास सफल भयो भने त्यो २२ औं हुने छ ।
पुष्पलाल, मोहनबिक्रम सिंह, मनमोहन अधिकारी, तुलसीलाल अमात्य लगायत नेताहरु राजा महेन्द्रको कू विरुद्ध उभिँदा केशरजंग रायमाझीले स्वागत गर्नुभएको थियो । कालान्तरमा रायमाझी घोषित रुपमै दरबारिया बन्नुभयो । त्यसअघि पार्टीमा अन्तरविरोध देखिए पनि त्यो नै पहिलो विष्फोट थियो । त्यसपछि फुटैफुटको इतिहास बोकेको नेकपाले बारम्बार जुटको प्रयास गरेको थियो ।
साढे चार वर्षअघि माओवादी र एमालेबीच एकता हुनुअघि २० पटक वाम एकता भइसकेकोमा उक्त एकता २१ औं थियो । ०७५ जेठ ३ गते ठूला दुई कम्युनिष्ट शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भयो । संसदमा एमाले १२१ र माओवादी ५३ सिट रहेकोमा जुटपछि १७४ सिटसहित ६४ प्रतिशत जनमतसहितको शक्तिशाली कम्युनिष्ट सरकार बनेको थियो ।
यो एकता लामो समय टिक्न भने सकेन । अन्ततः पुरानै दल अस्तित्वमा आए । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन नहुँदा उक्त एकता चुँडियो । नेकपा विभाजन भएर पुराना दुई दल पुनः स्थापित मात्रै भएनन्, वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी उदायो ।
यसरी लामो समयपछि बनेको शक्तिशाली कम्युनिष्ट दल तीन ध्रुबमा विभाजन भयो । विभाजनपछि तीन दलका अध्यक्षदेखि कार्यकर्तासम्मले एकअर्कामाथि गरेका टिप्पणी हेर्दा सहजै पुनः नेकपा ब्युँतिन्छ भन्ने कल्पना कसैको थिएन । तर, चुनावपछि पाँच दलीय सत्ता गठबन्धन तोडेर एमालेसहितका ७ दलको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछि पुनः वाम एकताको सम्भावना ब्युँतिएको छ । दलहरुले बाम एकताका लागि पहल सुरु गरेका छन् ।
चुनावअघि माओवादी, नेकपा एस र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरी नेपाल समाजवादी केन्द्र गठन गर्ने भद्र सहमति भएको थियो । सोहीअनुरुप वाम एकताको पहिलो प्रयासका रुपमा यी तीन दलबीच एकता गर्ने प्रयास सुरु भएको हो, जसमा एकताका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि जोडिन आइपुगेको छ ।
एकताका लागि माओवादी, नेकपा एस र जसपाका अध्यक्षत्रय दाहाल, नेपाल र यादवबीच विभिन्न चरणमा छलफलसमेत भएको छ । माओवादीसँग आलोपालो सरकारका लागि सहमतिपछि नेताहरुले एकताको बहस पनि अघि बढाएका हुन् । नेकपा एसलाई पनि जोडेर जानुपर्ने धारणा उनीहरुको छ । केही दिनअघि एमालेका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले पनि नेपाललाई भेटेर सहकार्यका लागि आग्रहगर्नुभएको थियो ।
नेकपा एसको स्थायी कमिटी बैठकमा पनि वाम एकताको विषयले प्रवेश पाएको छ । तर जुटभन्दा फुटमा रमाउने बाम पार्टीहरुको विगत हेर्दा पछिल्लो प्रयास सार्थक हुने आधार भने देखिन्न ।
प्रतिक्रिया दिनुहोस्