
काठमाडौं । मानव सभ्यताको विकास क्रमसँगै समय गणना गर्न विभिन्न पात्रो बनेको देखिन्छ । जसमा सौर्यमास र चन्द्रमासलाई आधार मानेर पात्रो बनेको छ । काठको बोर्ड र खरीले लेखेको चन्द्रमासलाई आधार बनाएर बनेको पात्रो अहिले पनि धार्मिक, सामाजिक र साँस्कृतिक कार्यका लागि ललितपुरमा प्रचलनमा रहेको छ ।
गोल्डेन टेम्पलको नाममा विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहार हो, जहाँ शाक्यमुनी गौतम बुद्धसहितको लोकेश्वरको भव्य स्वर्ण मूर्ति रहेको छ । क्वाः बहाः पनि नाम रहेको यस मन्दिरको विशेषता के हो भने यस महाविहारको मूल पुजारी बालक जसलाई बाफचा भनिन्छ । यस्ता, बालक १२ वर्षमुनिका ब्रतबन्ध नगरेका हुन्छन । चिवरधारण गरेर बाफचाले अष्टशील पालन गरेर प्रत्येक दिन नित्य पुजाआजा र धार्मिक कार्य गर्दे आएको छ ।
जहाँ विश्व शान्तिको कामना गर्दे हरेक दिन बौद्ध परम्परा अनुसार पुजापाठ हुने गर्दछ । भाष्करदेव वर्माले १२ औं शताब्दी तिर निमार्ण गरेको मानिएको महाविहार पेगोडा शैलीमा निर्माण भएको छ । जहाँ हरेक दिन सयौं पर्यटकले अवलोकन गर्छन ।
महाविहारको अर्को विशेषता के हो भने प्राचिनकालदेखि अटुट रुपमा चन्द्रमासको आधारमा पात्रो आमनागरिकका लागि राखिएको छ । काठको बोर्डमा खरीले लेखेको पात्रोलाई स्थानीय भाषामा ‘ग्वन्हः’ वा ‘नगूमा’ भनिन्छ । यही पञ्चाङ्गको आधारमा पाटन नगरमा धार्मिक, सामाजिक, साँस्कृतिक कार्य गर्दै आएको छ ।
नेपालको मौलिक ज्योतिष विज्ञानको मान्यताको आधारमा पात्रो लेख्न काम भने जोशी समुदायले गर्ने गर्दछ । जुन प्रत्येक ६/६ महिनामा ६ महिनाको पात्रो बनाईन्छ र महाविहारमा आमनागरिकले देख्ने ठाउँमा झुन्ड्याएर राखिएको हुन्छ । हाल महाविहारको रेखदेख गर्दे आएका भाई रत्न बज्राचार्य यो पात्रो चन्द्रमास र मौलिक ज्योतिष विज्ञान आधारमा बनेको बताउनुहुन्छ ।
अहिले बजारमा पाईने धेरै जसो पात्रो बनारसका पण्डाहरुको प्रभाव रहेकोले यहाँको मौलिक ज्योतिष परम्पर ओझेरमा परेको महाविहारका सदस्यहरुको भनाई छ । बज्राचार्य मौलिक ज्योतिष परम्परा तथा पात्रोलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने मत राख्नुहुन्छ ।
अहिलेको आधुनिक समाजमा क्यालेण्डरको प्रचलन धेरै छ, भलै यो पात्रो पाटनमा मात्र सिमित भएपनि यस्तो मौलिक परम्परा समय अनुकूल परिमार्जित गरि संरक्षण आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्