१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा आँखा शिविरबाट १ हजार बढी बिरामीले सेवा लिए


52
Shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका वासीन्दाको निःशुल्क आँखा उपचार गरेको छ।

गत बिहिबार र शुक्रबार भएको आँखा शिविरमा १ हजार ५१ जनाको आँखाजाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनुभएकाे हाे। १ सय ४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन र २ सय १ जनालाई चस्मा वितरण गरिएको प्रमुख अधिकारीले बताउनुभयाे।

गाउँपालिकाको बिकट क्षेत्र जवावैराठ, नेवलीगंज, नौडिहवा, मद्यनगर र गेडुवाजोत लगायत गाउँका वासीन्दाले सेवा लिएका छन्। ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरेकाे साेही गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयाे। विपन्न समुदायलाई स्वास्थ्य परीक्षण गराउन आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको उहाँकाे भनाइ छ ।

आँखा उपचार शिविर बिहिबार र शुक्रबार मात्र राखिएकाे भएता पनि बिरामी बढेकाले शनिबारसम्म भएकाे थियो । शिविर विजयनगर गाउँपालिका-६ स्थित हरिबोध आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो । छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक टोलीले बिरामीकाे जाँच गरेको हो।

सामान्य प्रकारका बिरामीको शिविरबाट उपचार हुने र अप्रेशन गर्नुपर्ने बिरामीको समेत गाउँपालिकाको सहयोगमा अप्रेशन गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयाे। जिल्लाका सबै पालिकामा आँखाका बिरामी फेला परेकाले पालिकासँग सहकार्य गरेर शिविर आयोजना गरिने उहाँले बताउनुभयाे ।