
बझाङ । बझाङका सबै सरकारी विद्यालयहरुमा विद्यार्थीकहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यार्थीरुलाई खाना खुवाउन थालिएको छ ।
जिल्लाभरीका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र तरकारी खुवाउन थालिएको हो। विश्व खाद्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम बझाङका विद्यालयमा लागू गरिएको छ । विद्यालयमा पौष्टिक आहार मिलाएर खाना पाइने भएपछि प्रारम्भिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ ।
अधिकांश दलित समुदाय रहेको यहाँका गरीब विद्यार्थीहरुका लागि निकै राम्रो कार्यक्रम भएको कालिका निम्न माध्यमिक विद्यालय दाँतोलाका प्रधानाध्यापक लोकनाथ जोशीले बताउनुभयो । विद्यालयमा खाना पाइन्छ भनेर पनि विद्यार्थी भर्ना भएको र नियमित विद्यालय आउने बानीको समेत विकास भएको प्रधानाध्यापक जोशीकाे भनाइ छ । केही महिनाअघि मात्रै विद्यालय खाना पाइन्छ भनेर विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयाे ।
दाल, भात र तरकारी खान पाउने भएपछि स-साना बालबालिकाहरुको नियमित विद्यालय आउने बानीको समेत विकास भएको दाँतोलका स्थानीय मोहन विष्टकाे भनाइ छ । अहिले विद्यार्थीहरु पनि नियमित रूपमा विद्यालयमा उपस्थित हुने र सानै उमेरमा पनि अभिभावकहरुले विद्यालयमा पठाउने बानीको समेत विकास भएको उहाँकाे तर्क छ ।

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला भरीका विभिन्न विद्यालयहरुको ३ वटा कार्यक्रमहरु लागू भएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख सुरेन्द्र कठायतले बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘प्रारम्भिक तह पढाई कार्यक्रम ४ सय ३९ वटा विद्यालयमा लागू गरिएकाे छ । त्यस्तै विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम ४ सय ५७ वटा विद्यालयमा लागू गरिएको छ । स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम ४ सय ६२ वटा विद्यालयमा लागू गरिएको छ । यी कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तमा सुधार ल्याएको छ ।’
प्रारम्भिक तह कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका १५ हजार ६ सय ४८ विद्यार्थी लाभान्वित भएका छन् । यस कार्यक्रम अन्तर्गत शिक्षकलाई तालिम, शिक्षक घुम्ती बैठेक, पढाई मेलाहरु, शैक्षिक सामग्री सहयोग तथा किताब कर्नर स्थापना, पढाई उत्प्रेरक नियमित रूपमा प्राविधिक सहयोग, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको बैठेक, शिक्षा संयोजकहरुको क्षमता अभिवृद्धि र अभिभावकहरुसँग कक्षा कोठामा अन्तरक्रिया जस्ता क्रियाकलाप गरिदै आएको छ ।
त्यस्तै विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत ५० हजार ८९ वटा विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएकाे कार्यक्रम संयोजक सुरेन्द्र जैरुले बताउनुभयाे । स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम अन्तर्गत रहेर विद्यालयमा तरकारी आपूर्ति, पालिका स्तरमा उपसमिति गठतन, सहकारी छनौट, कृषि समूह गठन तथा स्थानीय सरकार, शिक्षा समिति व्यवस्थापन समिति, सहकारी र कृषक क्षमता अभिवृद्धि र कृषकलाई प्राविधिक सहयोग आदि क्रियाकलाप गर्दै आएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र रसाईलीले बताउनुभयाे ।
यता प्रमुख जिल्ला अधिकारी बाबुबराम अर्यालले शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटै यस्ता कार्यक्रम लागू गरेर मात्रै सम्भव नहुने बताउनुभयाे । यसमा अभिभावकदेखि स्थानीय सरकारले बढी चनाखो बन्न जरुरी रहेकाे उहाँकाे तर्क छ । स्थानीय सरकारदेखि अभिभावकहरुले खासै चासो नदिको उहाँकाे भनाइ छ। विदेशमा सम्पूर्ण लगानी स्वयम अभिभावकहरुले नै गर्ने बताउदै उहाँले नेपाल सरकारले भने खानादेखि अन्य धेरै क्रियाकलाप गर्दै आएको भएपनि अझै शैक्षिक गुणस्तर प्रभावकारी नहुनु दु:खदायी भएकाे बताउनुभयाे ।
विद्यालयको शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, राजनीति दल, अभिभावक र जनप्रतिनिधि सबैले चासो दिन जरुरी रहेको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्