१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टोखाको चाकु अमेरिकासम्म निर्यात, ६ महिनासम्म खान मिल्ने


286
Shares

काठमाडौं । माघे संक्रान्ति नजिकिएसंगै काठमाडौंको टोखा नगरपालिका तल्लो लाक्षी डेको स्थित चाकु उद्योगहरुमा अहिले भ्याई नभ्याई छ । उद्योगहरुमा काक्तिकको दोस्रो साता देखिनै चाकु, तिलौरा, भुजाको लड्डु लगायतका मिठाई बनाउने चहलपहल हुन्छ ।

टोखाका चाकु उद्योगहरुमा बिहान चार बजेदेखिनै चाकु बनाउने काम सुरु हुन्छ । यस क्षेत्रमा करिब एक दर्जन चाकु उद्योग छन् । उद्योगमध्ये अधिकांश पुस्तेनी चल्दै आएका हुन् । सख्खर, चिनी र तिलको प्रयोगबाट बन्ने चाकुसहितका मिठाई माघे संक्रान्तिमा खास मानिन्छ ।

सामान्यतया नेवार समुदायमा माघे संक्रान्ति, काजकिरियामा नभई नहुने चाकु पछिल्लो समयमा अन्य समुदायमा पनि लोकप्रिय बन्न थालेको छ । केहि बर्ष पहिले साधारण चाकु बजारमा जाने भएपनि अहिले भने मसलेदार र स्पेशल चाकुको माग हुने गरेको व्यवसायी बताउँछन् । मसलेदार चाकुमा नरिवल मिसाइएको हुन्छ भने स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । जसले सामान्यभन्दा स्पेशल चाकुको मूल्य केही महँगो छ ।

माघे संक्रान्तिमा चाकुकको विशेष प्रयोग भएपनि चाकु खाँदा शरीरमा तातो हुने हुनाले जाडो मौसममा चाकु खाने गरिन्छ । चाकु माघे संक्रान्तिमा खाने परम्परासँगै जाडोमा शरीरलाई तातो बनाउने भएकाले जाडो समयमा चाकु बनाउने गरेको चाकु व्यवसायी सन्तमाया श्रेष्ठ बताउनुहन्छ ।

सख्खरलाई करिव एक घण्टा आगोमा पकाइसकेपछि भाँडोबाट निकालेर चिसो पारेपछि फिटेर पहेँलो रंगको चाकु तयार हुन्छ । फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ । सादा चाकु हातलेनै फिटेर बनाइन्छ भने पछिल्लो केही वर्ष यता मसालेदार चाकुको लागि मेसिनको प्रयोग गर्न थालिएको रीतु क्षेत्री बताउनुहुन्छ ।

टोखामा रहेका चाकु उद्योगहरुमध्ये केहि बेसिजनमा बन्द हुने गर्दछन् भने केहिले अर्डर अनुसारको उत्पादन गर्ने गर्दछन् । एक पटक बनाएको चाकु ६ महिनासम्म खान उपयुक्त हुने गर्दछ । यस क्षेत्रका कारखानाले चाकुबाट एक सिजनमा १० लाख देखि ५० लाखसम्मको कारोबार गर्ने गरेका छन् ।

टोखा क्षेत्रका उद्योगमा उत्पादन भएको चाकु, तिलौरा नेपालका विभिन्न शहरसहित अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न देशमा निर्यात हुने गर्दछ ।