१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी


221
Shares

काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ ।

यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ ।

विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्ने छ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् ।

जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न संघ संस्थाले बत्ती जडान गरेका हुन् ।

उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँदोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको जानकारी दिनुभयो । विभागले बत्ती जडान गरे पनि सञ्चालन भने ट्राफिक कार्यालयले गर्दै आएको छ ।

‘ललितपुर महानगरलगायतका स्थानीय तहले आफैँ पनि ट्राफिक बत्ती जडान गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘कतिपय स्थानमा बत्ती जडान गर्दा समन्वय हुनुपर्ने भए पनि नभएको पाइएको छ ।’ उहाँले फरक-फरक निकायबाट जडान भएका बत्तीको प्रविधिमा एकरुपता नभएकाले एकरुपता ल्याउने गरी काम अघि बढाइएको बताउनुभयो ।

‘यसका लागि वान डोर सिस्टम लागू गराउन प्रक्रिया अघि बढाइएको छ’, उहाँले भन्नुभयो, ‘अगामी दिनमा ‘एडप्टिभ ट्राफिक कन्ट्रोल’ प्रविधि जडान गरिने छ ।’ उहाँले सुरुमा बढी चाप हुने स्थानमा बत्ती जडान गरेपछि अन्य स्थानमा जडान गरिने बताए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको भक्तपुरको कोटेश्वर सूर्यविनायक सडकमाा जाइकाले नै बत्ती जडान गरेका थियो । हाल उक्त सडक खण्डमा रहेका पाँच वटा बत्तीले काम गरिरहेको विभागको जनाएको छ ।