१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा छ महिनामा ७ वटा गैंडाको मृत्यु


117
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ ।

यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो । निकुञ्जको गस्ती टोलीले आइतबार बिहान निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो ।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले योसहित चालू आर्थिक वर्षमा सात गैंडाको मृत्यु भएको जानकारी दिनुभयो ।

निकुञ्जको नियमित संयुक्त गस्ती टोलीले अमलटारी क्षेत्र अन्तर्गत कुजौली रेन्जपोष्ट नजिकको नारायणी नदीको भंगालोको किनारमा गैंडा मृत फेला परेको तिवारीको भनाइ छ ।

जन्दाजी १८ वर्षको उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको हुँदा गैंडा प्राकृतिक कालगतिले नै मरेको हुनसक्ने निकुञ्जले जनाएको छ । दुर्लभ वन्यजन्तु मानिने गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि चोरी सिकारीले मार्ने गर्छन् । तर पछिल्ला वर्षहरूमा खागका लागि तस्करहरूले गर्ने चोरी सिकारी नियन्त्रणमा आए पनि कालगति, जुधेर र अन्य दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढेको बताइन्छ ।