२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रमको २४ औं वार्षिकोत्सव


221
Shares

काठमाडौं । ईमेज एफएम ९७.९मा निरन्तर कार्यक्रम संचालन गर्दे आउनु भएका र्‍यापर निर्णय श्रेष्ठको कार्यक्रम “ब्रिङ द हाउस डाउन विथ निर्णय एनएसके”को २४ औं वार्षिकोत्सव मनाइएको छ ।

र्‍याप सम्राटका रुपमा चिनिनुहुने श्रेष्ठले विगत २४ वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिदैं आउनु भएको छ । कार्यक्रम २४ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभाकी सांसद ईन्दीरा राना मगरले आफू र आफ्नो परिवार निर्यायको निकै ठूलो फ्यान रहेको बताउनु भयो । सांसद रानामगरले विभिन्न सामाजिक कामहरुमा र्यापर निर्णयसँग हातेमालो गरेको समेत स्मरण गर्नुभयो ।

यसैगरी कार्यक्रममा ईमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले निर्णयको सामाजिक सेवा र गीतसँग २४ वर्षको सेवाको प्रशंसा गर्दै कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले दोसल्ला र फूलमाला पहिराई शुभकामना दिनुभयो । कार्यक्रमका अर्का अतिथि सामाजिक अभियन्ता सुमन सायमीले निर्णयको गीत आफूले सानै देखि सुनेको र उहाँको गीत तथा समाजसेवाको प्रशंसा गर्नुभयो । कार्यक्रममा विभिन्न र्‍यापरले आफ्नो प्रस्तुती दिनुका साथै निर्णय एनएसकेले नेपाली र्‍यापको क्षेत्रमा दिएको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा गायिका विष्णु चेम्जोङ, जेनिशा महर्जन, उडी बाबा, सिड वाग्ले, पाक्सो, भरत सामरी, प्रशान्त मिस्ट आदिले आफ्नो आफ्नो प्रस्तुती दिएका थिए ।