१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड सेमिफाइनलमा


0
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र दावाली मिलन क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न मंगलवारको खेलमा नेपाल पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

यससँगै जारी प्रतियोगिता पुलिस अन्तिम आठमा प्रवेश गर्ने दोस्रो टोली भएको छ भने दावाली तेस्रो टोली बनेको छ । यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तिम आठमा स्थान बनाएको थियो । पुरुषततर्फ मंगलवार भएको पहिलो खेलमा पुलिसले ढोरपाटनमाथि २४–१२, २५–२० र २५–११ को सहज जित निकाल्न सफल भएको हो र समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्दै पुलिसले एक खेल बाँकी रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । समूह ‘सी’ मा अपराजित पुलिस २ खेलबाट स्पष्ट ६ अंक जोड्न सफल भएको हो ।

प्रतियोगिताअन्तर्गत मंगलवार नै भएको अर्को खेलमा गण्डकीले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एकपक्षीय भएको खेलमा गण्डकीले २५–१२, २५–१७ र २५–२२ को जित निकाल्न सफल भयो । पुरुषकै दिनको तेस्रो खेलमा मणिमुकुन्द भलिबल क्लव रूपन्देहीलाई पराजित गर्दै दावाली मिलन क्लव पनि प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । दावालीले ३–१ को सेटमा जित हात निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । दावालीले २१–२५ २५–२१, २५–२२ र २५–२३ जित निकालेको हो ।

यस्तै मंगलबार नै महिला तर्फको स्पर्धामा न्यु डायमण्डले एभेरेस्टमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । न्यु डायमण्ड लागातार दोस्रो जित निकालेर एक खेलअगावै अन्तिम चारमा पुगेको हो । डायमण्डको जितसँगै नेपाल पुलिस क्लव पनि एक खेलअगावै सेमिफाइनलमा पुगेको छ । एभरेस्ट र नयाँ बजार सामाजिक युवा क्लव अंकबिहीन हुँदै बाहिरिएका छन् । डायमण्डले एभरेस्टलाई २५–७, २५–१० र २५–१२ ले हराएको हो ।

यस जितसँगै डायमण्डको समूह ‘ए’ मा २ खेलबाट ६ अंक भएको छ । पुलिसको पनि समान २ खेलबाट ६ अंक छ । यो समूहको अन्तिम खेलमा डायमण्ड र पुलिस तथा एभरेस्ट र नयाँ बजारबीच प्रतिष्पर्धा हुनेछ । डायमण्ड र पुलिसले समूहविजेताको छिनोफानोका लागि प्रतिष्पर्धा गर्दा एभरेस्ट र नयाँ बजार सान्त्वना जितको खोजिमा हुनेछन् । यसअघि मंगलवार नै विभागीय टोली एपिएफ क्लवले गण्डकी प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा विजयी शुरुवात गरेको छ । एपिएफले गण्डकीलाई २५–१५, २५–१० र २५–११ को सेटमा पाखा लगाएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता छ । पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।