१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव’ हुने


104
Shares

काठमाडौं । माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ ।

माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौं’ हुन लागेको हो ।

थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मुल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मूल आयोजक समिति सदस्य कानूनलाल चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्‍याली लगायतका विभिन्न कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो । खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल र्‍याली सुरु भई भृकुटीमण्डपमा समापन हुने छ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभुसा, बाजागाजासहित बसन्तपुरमा जम्मा भएर झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सवको व्यवस्थापनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मुल समारोह समिति सदस्य कानूनलाल चौधरीले बताउनुभयो ।