
काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दुतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरु गर्नै अफ्ठ्यारो भएको गुनासो आइरहेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विदेशस्थित नेपाली दुतावासहरु नेपालबाट वैदेशिक रोजागारीमा जानेहरुको समस्या समाधान गर्र्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा आर्थिक आयामका बारेमा काम गर्न नसकिने अवस्था रहेको बताउनुभयो । उहाँले विदेशस्थित नेपाली दुतावासहरु सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरुको सुधार हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने देशहरुको समेत दुतावासको क्षमता बढी रहेको बताउनुभयो । उहाँले नेपालभित्र नै रोजगारीको अवस्था सिर्जना गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले नेपालभित्रै लगानीको वातावरण बनाउने, लगानीमैत्ती वातावरण बनाएको खण्डमा मात्रै नेपालले आर्थिक विकास गर्न सफल हुने बताउनुभयो । उहाँले उत्पादन नगरेसम्म निर्यात गर्न नसकिने भन्दै नेपालमा गुणस्तरीय उत्पादन गर्ने परिस्थितिको सिर्जना गर्न राज्यले सक्नुपर्ने बताउनुभयो ।
सचिव पौडेलले नेपालले पछिल्लो समय चियाको निर्यात बढाउँदै गएको पनि बताउनुभयो । उहाँले नेपालका व्यापारीहरुले नै पछिल्लो समयमा विदेशबाट चियाको माग बढी आइरहेकाले माग परिपूर्ति गर्नसक्ने वातावरण सरकारले बनाइदिनुपर्ने गुनासो गरेको बताउनुभयो ।
सचिव पौडेलले पछिल्लो समय नेपालबाट चियाका साथै हस्तकला र आइटीका सामग्रीहरुको माग विदेशमा बढीरहेको बताउनुभयो । निर्यात बढाउन सरकारले नीतिगत कुराहरुमा सहयोग गरे राम्रो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्