१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्यपहाडी लोकमार्ग विस्तारप्रति तेह्रथुमका स्थानीय आन्दोलित


247
Shares

तेह्रथुम । तेह्रथुममा मध्यपहाडी लोकमार्ग विस्तारले घरबार विहीन हुने भन्दै स्थानीयले आन्दोलन गरेका छन् ।

लालीगुराँस नगरपालिकाको पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार गर्दा आफूहरुको उठिबास हुने भन्दै वसन्तपुर बजारवासीले आन्दोलन गरेरका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन् ।

नेपाल र भारत सीमा पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडै पहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै वसन्तपुर बजारसम्म आइपुगेको छ ।

बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारवासीले विरोध जनाएर प्रदर्शन गरेका हुन् । ऐतिहासिक र पुरानो बजार भएको र बजार क्षेत्रबाट बाटो निमार्ण हुँदा बजारा धेरै घर सुकुम्वासी हुने भएकाले आन्दोलन सुरु गरेको उद्योग वाणिज्य संघ उपशाखा वसन्तपुरका अध्यक्ष रोशन सुवेदीले बताउनुभयो।

बीच बजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका १ सय बढी घरको अगाडीको भाग काट्नु पर्ने विरोधमा उत्रिएका स्थानीयको दावी छ । लोकमार्ग निर्माण हुँदा मुख्य चाेकको घर भत्काउनु पर्ने र आफूहरुको धेरै नोक्सान हुने भएकाले विरोधमा उत्रिएका स्थानीय चुडामणी अधिकारीकाे भनाइ छ।

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यस अघि नै सम्बन्धित क्षेत्रका प्रभावित वासीन्दा र जनप्रतिनिधिसँग पटक-पटक छलफल गरेर काम अघि बढाएको जनाएको छ । योजना प्रमुख अर्जुन कुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था समेत गरिएको बताउनुभयाे ।

स्थानीयको माग अनुसार लोकमार्ग अन्यत्र स्थानबाट लैजान सम्भव नहुने र बीच बजारबाटै जाने प्रमुख बमको भनाइ छ । वसन्तपुर सरकारले पहाडबाट तराई र सुविधा सम्पन्न स्थानमा हुने बसाइँसराई रोक्ने उदेश्यले घोषणा गरेको नयाँ शहर समेत हो । वसन्तपुरमै नयाँ शहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणको काम समेत भइरहेको छ ।