१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सोलुखुम्बुको नेलेका अग्नी पीडितलाई ५ लाख रूपैयाँ हस्तान्तरण


52
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडितलाई सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले पौने ५ लाख नगद हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख शेर्पाकोे पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिहरुबाट सङ्कलित ४ लाख ८९ हजार १ सय ५० रुपैयाँ रकम अग्नी पीडित सहयोग समितिलाई आगलागी स्थलमै पुगेर प्रमुख शेर्पाले हस्तान्तरण गर्नुभएकाे हो । सङ्कलित सहयोग रकममा एन.आर.एन. न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पाले सङ्कलन गरी पठाएको २ लाख ८९ हजार १ सय ५० रुपैयाँ, सोलुदूधकुण्ड नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ र प्रमुख शेर्पाको व्यक्तिगत ५० हजार रुपैयाँ रहेको वडाध्यक्ष एवं अग्नी पीडित सहयोग सङ्कलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

प्रमुख शेर्पासहितको टोलीले घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको रकम अग्नी पीडित सहयोग समितिको संयुक्त खातामा जम्मा गरेकाे हाे । नेलेका अग्नी पीडितको राहतका लागि आफू सुरुदेखि नै खटिरहेको र आगामी दिनमा पनि सहयोग सङ्कलनका लागि सक्दो पहल गर्ने प्रमुख शेर्पाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यहि पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, बुद्धिबहादुर कार्की र गणेश बस्नेतको घर पूर्ण रूपमा जलेर क्षति भएको थियो । साथै प्रणय राईको घरमा आंशिक क्षति भएको थियो ।