६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डडेल्धुराकाे परशुराम मन्दिरमा भाेलि माघी मेला लाग्ने


299
Shares

डडेल्धुरा । महाकाली नदीय तटमा अवस्थित प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आइतबार ठूलो माघी मेला लाग्ने भएको छ ।

डडेल्धुरा सदरमुकामबाट करिब १ सय किलोमिटर दूरीमा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिरमा आज शनिबारदेखि नै चहलपहल बढेको हाे । आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरी मेला हुने गर्दछ ।

हैयेयवंशी क्षेत्रीयहरुले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रीयहरुको अत्याचार कम गर्न क्षेत्रीय विनाश गरेको एकै पटक पृथ्वीको परिक्रमा गरी पृथ्वीलाई क्षेत्री विहीन गरेपछि भगवान विष्णुको छैटौं अवतार मानिने परशुरामले सर्यू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविद्को भनाइ छ ।

महाँकालको जटावाट निस्केको मन्दाकिनी महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नानको भन्दा दश गुणा बढी पुण्य प्राप्त हुनेछ । साथै परशुराम धार्मिक स्थलमा स्नान र तर्पण गर्नाले १ सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र धार्मिक स्थलको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका ९ वटा जिल्ला लगायत भारतको उत्तराखण्डका विभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरु आउने गर्दछन् ।

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान दिइएको भगवान परशुरामले शिवजीको कठोर तपस्यापछि फर्सा (परशु) प्राप्त गरेको इतिहास छ । भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको धार्मिक स्थल भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सा रामबाट फर्सनान हुँदै अप्रभंश भइ परशुराम हुन गएको स्थानीय श्रुति पाइन्छ ।

धार्मिक, साँस्कृतिक, सामाजिक र पर्यटकीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण महत्वपूर्ण धार्मिक स्थल परशुराम मन्दिर स्वेदेशीहरुका लागि मात्र नभएर छिमेकी मुलुक भारतका भक्तजनहरुको लागि पनि प्रसिद्ध धार्मिक स्थल हो । महाँकाली गंगा स्नानमा भक्तजन मात्र नभई विभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतिक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन रहेकाे छ ।

पछिल्लो समय परशुराम नगरपालिकाको तर्फबाट यस क्षेत्रको प्रचारप्रसारका लागि धार्मिक स्थल परिसरमा परशुराम भगवानको विशाल मूर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरू समेत वृद्धि भएका छन् ।