१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लिम्बु समुदायले आज कक्फेवा तङनाम पर्व मनाउँदै


611
Shares

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आइतबार (नयाँ वर्ष ५०८३) कक्फेवा तङनाम तथा माघे संक्रान्ति पर्व मनाइरहेका छन् ।

आफूलाई प्रकृति पूजकको रुपमा लिने लिम्बु समुदायको आफ्नै मौलिक संस्कार, संस्कृति, भाषा र कला साथै पर्वहरु रहेका छन् । कक्फेवा तङनाम पनि लिम्बु समुदायको मौलिक पर्व हो ।

अन्न बाली खेती सुरु हुनु अघि कन्दमूल खाने गरेका थिए । सोही सम्झनाको स्वरूप माघ १ गतेका दिन एका बिहानै नुहाएर वन तरुलको टिका लगाई कन्दमुल खाएर यो पर्व मनाउने प्रचलन रहेकाे नेपाल आदिवासी जनजाति संघका अध्यक्ष टीआर सेनेहाङले बताउनुभयो । कक्फुङ (चाँप) फुलेर नयाँ सालको अनुभूति हुने भएकाले यि समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन् ।

यि समुदायले माघे संक्रान्ति पर्वकाे पहिलो दिन वन तरुल वनमा गई खनेर भोलिपल्ट बिहानै उसिनेर खाने प्रचलन रहदै आएको छ । वन तरूल, गिठ्ठा, गुदुरगानो भ्याकुर र रोटी एक-आपसमा घरघरमा पुर्याउँदै बाडेर खाने प्रचलन अझै कायम रहेकाे अगुवाहरुले बताउने गरेका छन् । यि समुदायले चासोक, कक्फेवा,याक्वा र सिक्सेवा तङनाम लगायतका पर्वहरु मनाउने गरेका छन् ।

लिम्बु समुदाय पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ इलाम, झापा, मोरङ, सुनसरी र भारतको सिक्कीम दार्जिलिङ तथा विभिन्न स्थानमा बसोबास गर्दै आएका छन ।