१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


विमान दुर्घटना : शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन


143
Shares

काठमाडौं । राष्ट्रिय विपद्, जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्ट मार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने बारेमा छलफल गरेको छ ।

आइतबार यति एयरलाइन्सको विमान दुर्घटना भएपश्चात मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सबै सरोकारवालाहरुले पीडित परिवारलाई सूचना तथा जानकारी सहज रुपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको छ । बैठकपछि बोल्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मृतकका परिवारलाई, विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावासलाई र सञ्चारकर्मी साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने विषयमा गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको बताउनुभयो ।

उहाँले गृहमन्त्री लामिछानेले सरोकारवाला निकायहरुलाई पोष्टमार्टम, बीमाका प्रावधान आदिमा सहजिकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापन लगायतका चरणहरूमा आवश्यक काउन्सिलिङ लगायत सहजीकरण गर्न निर्देशन दिनुभएको पनि बताउनुभयो । बैठक सोमबार पुनः बस्ने छ ।

बैठकमा गृह मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

आइतबार बिहान साढे १० बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रीपरिषद्को बैठकले मृतकको शोकमा सोमबार शोक बिदा दिएको छ ।