
म्यागदी । भारतको अयोध्यामा निर्माणाधिन श्रीराम मन्दिरमा भगवान राम र सीताको मूर्ति बनाउनका लागि अयोध्या लैजाने शालिग्राम (देव शिलाको) पूजाअर्चनासहित कालीगण्डकी नदीमा भूमि र क्षमा पूजा गरिएको छ ।
गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्यएवम् पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनीनगरपालिकाकाप्रमुख सुरत केसी, अयोध्यास्थित राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गर्नुभएको थियो ।
विश्वमै शालीग्राम शिला पाइने एक मात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मि कस्थल अयोध्यामा मूर्तिका रुपमा राख्न लागिएको हो ।
अयोध्यामा निर्माणधिन राम मन्दिरमा भगवान रामको बाल अवतारको मूख्य मूर्ति बनाएर राख्नका लागि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले नगरपालिका–६ ठूलो पहिरो स्थित कालीगण्डकीमा पहिचान गरेका दुई थान शिलाको आइतवार भव्य पूजासहित हस्तान्तरण गरिएको हो ।
क्षमा पूजा गरेपश्चात बेनी नगरपालिकाका प्रमुख सुरत केसीले र गण्डकी प्रदेश प्रमुख गुरुङले जानकी मन्दिरका महन्तलाई शिला हस्तान्तरण गर्नुभएको थियो । भूर्गभविद् र विज्ञ सहितको टोलीले अयोध्या लैजान पहिचान गरेका क्यालसाइट र क्वार्जराइट नामका १६ र १८ टनका दुई शिलालाई हस्तान्तरण गर्नु पूर्व शनिवार उच्चस्तरीय टोलीले अवलोकन गरेको थियो।
काली गण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताउनुभयो ।
‘‘हामी अत्यन्तै खुसी हर्षित छौँ, नेपालको कालीगण्डकीबाट भगवान रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ’’,उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्