
काठमाडौं । सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।
इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेट तथा पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेका हुन् ।
यस जितसँगै समूह ए को सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिमले वागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो ।
आज गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा ६० रनको योगफल बनाएको थियो । आजको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।
इटहरीको जनता पार्कमा ढिलो गरी सुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो ।
मैदान ओसिलो भएपछि ९ ओभरमा झारिएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ५० रन जोड्नसक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले छोट्याइएको ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो ।
जितसँगै प्रदेश १ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ समूह बी को शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा भोलि पनि दुई खेल हुने छन् । दिनको पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्