
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नु भएको हो ।
राष्ट्रियता लगायतका सबै राजनीतिक इस्यूहरुमा सहकार्यका साथ अघि बढन बैठकमा प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गर्नुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढन सकिने ओपन धारणा राख्नु भएको उहाँले बताउनुभयो ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरुको तर्फबाट सबै राजनीतिक दलहरुलाई धन्यवाद समेत दिनु भएको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय इस्यूहरुमा भने सहमती गरेर अघि जान तयार रहेको धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्