
काठमाडौं । सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ । यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ । यही कारण कांग्रेस सत्तामा फर्किने खेलमा लागि सकेको छ । कांग्रेसभित्रको यो चाहना व्यवहार र बोली दुवैमा अभिव्यक्त हुन थालेका छन् ।
देश, जनता र लोकतन्त्रको खातिर इतिहास रचेको कांग्रेसले सत्ताकै लागि मरिहत्ते गर्नु दुर्भाग्य हो । तर कांग्रेसमा यस्तो मनोविज्ञान अब नयाँ रहेन । सत्तामा रहने शेरबहादुर देउवाको दाउपेचको परिणाम राजनीतिक कोर्स फेरिएपछि कांग्रेभित्र छटपटी बढेको हो । हुन त पुष्पकमल दाहाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुन चाहनुहुन्थ्यो । सत्तामा रहने देउवाको दाउपेचले दाहाललाई निकै निराश बनाएको थियो ।
दाहालमा प्रधानमन्त्री बन्ने हतारो थियो भन्नेमा देउवा भलिभाँती जानकार हुनुहुथ्यो । प्रधानमन्त्रीमा निरन्तरता खोज्दा देउवाको हातबाट अर्काे निर्वाचनसम्मको अवधिमा आधा कार्यकाल प्रधानमन्त्री हुन पाउने सम्भावना पनि गुमेको छ । साथै नेपाली कांग्रेसले हासिल गर्ने अनेकन राजनीतिक अवसरमा तगारो लागेको छ । कांग्रेस सम्भावनाको हिसाबले एकैचोटी शून्यमा झरेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर रित्तो भएपछि नेतृत्वमाथि आक्रोश चुलिएको छ ।
जनप्रतिनिधिको दवावका कारण कुनै पनि हालतमा राजनीतिक लाभ लिने वा सत्तामा फर्किने रणनीति तय गर्नु कांग्रेसको पहिलो उद्देश्य बनेको छ । यसको सुरुवात उसले पर्याप्त समर्थन जुटाएका दाहाल सरकारलाई विश्वासको मत दिएर गरेको छ । यसले कांग्रेसले सत्ता स्वार्थमा लोकतान्त्रिक संस्कार त भुलेको देखायो नै, कांग्रेसको आन्तरिक जीवनमा जसले जति विरोध गरे पनि देउवाकै हालिमुहाली चल्छ भन्ने तथ्य पनि स्थापित भएको छ ।
कांग्रेसको यो चलखेल सत्ता स्वार्थसँग जोडिएको छ भन्ने अभिव्यक्ति एकपछि अर्काे गरेर आइरहेका छन् । प्रतिपक्षमा बस्ने संकल्प, सरकारलाई समर्थनसँगै राष्ट्रपति र सभामुखका लागि प्रतिस्पर्धाभित्र चलखेल र जालझेल दुवै लुकेको प्रष्ट हुन्छ । नेताद्वय रामचन्द्र पौडेल र शेखर कोइरालाले विश्वासको मतलाई निर्वाचनअघिको गठबन्धन पुनः फर्काउने प्रयास भएको अभिव्यक्ति दिनुले कांग्रेसभित्र केही पाकिरहेको छ भन्ने पुष्टि हुन्छ ।
यसको अर्थ एमाले र माओवादी केन्द्रको सहयात्रा भत्काउनु हो । लोकतान्त्रिक शासन व्यवस्थामा अझ आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीले अंगीकार गरेको सिद्धान्तले मात्र सुनिश्चित गर्दैन, नैतिकता– आदर्शका औपचारिक र अनौपचारिक ब्यवहारले तय गर्छन् । यो अर्थमा नेपाली कांग्रेस यसपाली नराम्ररी चुकेको छ ।
लोकतन्त्रमा राजनीतिक दलहरु स्थापित राजनीतिक प्रणालीभन्दा बाहिर हुँदैनन्, तर सत्ता बाहिर हुनुचाहिँ सामान्य हो । किनभने लोकतान्त्रिक परिपाटी भएको देशमा एकै समय सबै दल सरकारमा अटाउँदैनन् । यो तात्कालिन जनमत र राजनीतिक घटनाक्रमले तय गन विषय हो । तर जसरी पनि सत्तामा रहनुपर्छ भन्नु लोकतन्त्रका लागि खतरनाक हुन्छ । लोकतन्त्र खतरामा हुनु भनेको विधिको शासन ओझेल पर्नु हो ।
बेथिति र षड्यन्त्रले प्रभाव बढ्दै जानु हो । नेपाली कांग्रेसको लोभ र उसले त्याग्दै गरेको निष्ठाको राजनीतिले यस्तै अशुभ संकेत गरिरहेको छ । पार्टीभित्र बढेको सत्ताकेन्द्रित मनोविज्ञानले पार्टीका निष्ठावान नेता, कार्यकर्ता थकित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्