१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत चुहावट घट्यो


182
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ ।

नियमित विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाएको जनाएको छ ।

अघिल्लो वर्ष यही अवधिमा वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । चालू आर्थिक वर्षको मंसिरसम्म वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ ।

३१ करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ । असारसम्म समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू वर्षमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई आठ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिनुभयो । जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्नसक्ने भएकाले त्यसतर्फ प्राधिकरणको ध्यान सोझिएको बताइएको छ ।

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको मंसिरसम्ममा समग्र विद्युत चुहावट १२ दशमलव ८० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा १२ दशमलव ९७ प्रतिशत थियो ।

सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४४ दशमलव ८३ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट ४३ दशमलव ८२ प्रतिशत थियो ।