
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताउनुभएको छ ।
शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
यसको निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै, पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । का.मु. प्रधानन्यायाधीश कार्कीले अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको बताउनुभयो । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेमा प्रविष्ट गराउने सोच राखेको उहाँले जानकारी दिनुभयो ।
का.मु. प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरुको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताउनुभयो । उहाँले यसबाट मुद्दाका पक्षहरु र अदालत स्वयम्लाई कार्य सम्पादनमा सहज भएको बताउनुभयो । विद्युतीय प्रणालीको प्रयोगका कारण अदालतहरुमा पक्षहरुको उपस्थितिलाई न्यून गर्दै मुद्दाको कारबाहीको बारेमा सहज जानकारी उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो ।
उहाँले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रुपमा सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । का.मु. प्रधानन्यायाधीश कार्कीले शुक्रवार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्नुभएको हो । यस सफ्टवेयरमा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्