
दाङ । दाङको तुलसीपुरदेखि घोराही हुँदै लमही जोड्ने सडकमा यात्रा गर्नेहरूले सास्ती भोग्नु परेको छ ।
सडक स्तरोन्नति गर्ने भन्दै भत्काएर अलपत्र छाड्दा यात्रुले सास्ती भोग्नु परेको हो । आधा घण्टा लाग्ने यात्रामा घन्टौं लाग्ने र जोखिम समेत बढेको छ ।
दाङ, तुलसीपुर, घोराही हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्ड अन्तर्गत कुइरेपानीसम्म स्तरोन्नति गर्ने भन्दै सडक लथालिंग पारेपछि यो सडकमा यात्रुले कष्टकर यात्रा गर्नु परेकाे छ ।
कुइरेपानीदेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक कतै चार लेन र कतै दुई लेनमा स्तरोन्नति गर्न सन् २०१९ जनवरी २८ मा भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीसँग सम्झौता भएको थियो ।
३३ महिनामा काम सक्ने सम्झौता भएपनि पटक पटक म्याद थप्दा समेत सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्रै छ । सडक भत्काएर लथालिंग हुँदा सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । आधा घण्टा लाग्ने यात्रामा घन्टौं लाग्ने र जोखिम समेत बढेको छ ।
लामो समयदेखि सडकको अवस्था नाजुक भएपछि तुलसीपुरमा क्रियाशील युवा व्यवसायीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको कामको थालनी गरेका छन् । तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर क्रियाशील युवा व्यवसायीहरूले उपमहानगरका इञ्जिनियर पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालिएकाे हाे ।
घोराही तुलसीपुर सडक खण्डमा विगत २ वर्षदेखि बस चलाउँदै आएका विवेक कार्कीले ६ वर्षसम्म चल्ने गाडीहरू सडकका कारण दुई वर्ष मै काम नलाग्ने हुने गरेको बताउनुभयो । त्यस्तै विजौरी तुलसीपुरमा अटो चलाउँदै आउनुभएका खुशीराम चौधरीले सडकका कारण ठूला गाडीसँग झगडा हुने गरेको बताउनुभयो ।
गाडीहरुले मात्र नभई यात्रु तथा स्थानीयले पनि सडकका कारण धेरै सास्ती भोग्नु परेको तुलसीपुर–१९ बिजौरीका श्रीकण्ठ पोखरेलले बताउनुभयो । यो ४ लेनकाे सडक निर्माणको जिम्मा भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको हो ।
तर साेही प्रालिले ठेकेदार फेर्दै आएपनि सडक निर्माणले तीव्रता भने पाएको छैन ।
प्रतिक्रिया दिनुहोस्