६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्री दाहालले अर्घाखाँची महोत्सवको उद्घाटन गर्ने


364
Shares

अर्घाखाँची । अर्घाखाँचीमा संचालन हुन लागेको पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ ।

यहि माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल आउन लाग्नुभएकाे उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो जानकारी दिनुभएको हो । साेही महोत्सवमा करिब ४ सय स्टल राखिने भएकाे छ । जसको तयारीकाे काम तीब्रताका साथ अघि बढेको बताउनुभयो ।

महोसत्व सम्पन्न गर्नका लागि २३ वटा विभिन्न समिति गठन गरिएको चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयाे ।

यस पटककाे महोत्सवलाई व्यापार व्यवसायको प्रवर्द्धनसँगै कला संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिएकाे छ । जिल्लाको संस्कृति, भेष-भूषा र परम्पराको संरक्षण गर्दै महोत्सवकाे उद्घाटनकाे दिन विभिन्न झाँकी समेत समावेश गरिने भएकाे छ । प्रधानमन्त्री दाहाल आउने भएपछि सुरक्षा व्यवस्थापनको समेत तयारीमा जुटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो।