
काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका २ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक राजन ढकालले मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
मंगला १ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला २ की २२ वर्षीया विपना कार्की, मंगला १ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्