
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताउनुभएको छ ।
सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले निगमले सेवा बिस्तार गर्दा नाफा नोक्शानको भन्दा पनि राष्ट्रिय दायीत्व पूरा गर्नुपर्ने बताउनुभयो ।
अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताउनुभयो । उहाँले निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानको लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको बताउनुभयो ।
उहाँले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरियता बढाउने र निगमको सुधारमा तिब्रता ल्याउनु रहेको बताउनुभयो । उहाँले राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्