
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताउनुभयो । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँले बताउनुभयो ।
सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताउनुभयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उहाँको भनाई छ ।
सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गर्नुभयो ।
उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताउनुभयो । उहाँले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहश र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा छलफलहरु गर्दा आफूहरुलाई पनि समावेश गराउन र अनुभवहरुको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्